यथास्थितिमा एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने बताएका छन्।बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्।

उनले भने, ‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइराखेका पनि छौं। तर, एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ। त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन। एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन।’

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्लामात्रै भएको भन्दै प्रचण्डले गठबन्धन कमजोर नभएको जिकिर गरे। उनले भने, ‘गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरे पनि टुट्दैन।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीलाई देखाएर गठबन्धनभित्र खेल्न खोजेको आरोप प्रचण्डले लगाए।

स्थानीय तहको निर्वाचन आगामी जेठमा हुन उल्लेख गर्दै प्रचण्डले पार्टीलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा जोड दिए। उनले भने,  ‘पार्टी नेतामुखी र सहरमुखी भएको गुनासोहरु आइरहेका छन्। तपाईंहरु गाउँ र जनतामुखी भएर लाग्नुस्। स्थानीय चुनावमा जनताको मन जितेर पहिलो शक्ति बन्नुस्।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.