राष्ट्रियसभा निर्वाचन : अहिले ९ बजेदेखि मतदान, परिणाम पनि आजै

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ।

मतपरिणाम आजै

निर्वाचन समाप्त भए लगत्तै आजै मतगणना हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार राति ११ बजेसम्म मतपरिणाम सार्वजनिक हुने सम्भावना छ । उनले भने- “आयोगले मतपरिणाम अबेर रातिसम्म आजै आउने अपेक्षा गरेको छ । कुनै असहजता नभएमा बढीमा ११–१२ बजेसम्म मतपरिणाम आइसक्ने अपेक्षा छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.