राष्ट्रियसभा सदस्यकालागि सुदूरपश्चिमबाट एमाले उम्मेदवार सिफारिस

धनगढी । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले)का उम्मेदवार सिफारिश भएका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नौ जनाको नाम सिफारिश गरेको हो। सुदूरपश्चिममा रिक्त भएका राष्ट्रिय सभाका तीन सिटका लागि चुनाव हुँदै छ।

विभिन्न क्लस्टरमा रिक्त रहेका तीन सिटका लागि तीन-तीन जनाको नाम सिफारिश गरिएको हो। एमाले सुदूरपश्चिम कमिटीका अनुसार खुलातर्फको उम्मेदवारका लागि राजेन्द्रसिंह रावल, डिल्लीराज भट्ट र कृष्णप्रसाद जैसीको नाम सिफारिश गरिएको छ। कञ्चनपुरबाट रावल, कैलालीबाट भट्ट र अछामबाट जैसी सिफारिश भएका हुन्।

त्यस्तै, महिलाबाट सन्तोषकुमारी थापा, ठगु महरा र भागरथीकुमारी चन्दको नाम सिफारिश भएको छ। कैलालीबाट थापा, डोटीबाट महरा र बझाङबाट चन्दको नाम सिफारिश भएको हो। दलितबाट नरेशकुमार विश्वकर्मा, लालीराम लुहार र काशिबहादुर विकलाई सिफारिश गरिएको छ। बैतडीबाट विश्वकर्मा, दार्चुलाबाट लुहार र बाजुराबाट विक सिफारिशमा परेको एमाले प्रदेश कमिटीले जनाएको छ।

एमाले केन्द्रीय कमिटीले तीनै समूहमा एक-एक जनालाई उम्मेदवार बनाउनेछ। राष्ट्रिय सभाको निर्वाचन १२ माघमा हुँदै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.