‘आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहन्छ’ प्रचण्ड
धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । प्रेस सेन्टर कैलालीद्वारा बुधबार धनगढी एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनलाई अझ सुदृढ बनाएर जाने बताएका हुन् ।
काँग्रेसका नेताहरूले गठबन्धन आवश्यक नरहेको बताउन थालेका छन् । एमाले सँग एक्लै लड्ने आट नगर्नु भएको हो ? भन्ने पत्रकारकाे प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले, ”होइन, त्यस्तो छैन । कोही-कोही लाई के दाग्दै छ भने अब महाधिवेशन आएको छ । कोहीलाई लाग्छ गठबन्धन बलियो बनाएर जाने भन्यो भने भेट धेरै आउँछ कि महाधिवेशनमा, कोहीलाई विरोध गर्यो भने भने भोट आउँछ कि भनेर भन्या हो । भित्र सबैको एउटै छ । गठबन्धन त चाहिन्छ भन्ने छ ।
गठबन्धन तोड्ने त्यस्तो नि कहीँ हुन्छ र ? गठबन्धनले मजाले प्रधानमन्त्री हुन पाइएको छ । मन्त्री बन्न पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? त्यो कहीँ कतै मिल्ने कुरै हैन नि त्यो ।”
निर्वाचनसम्बन्धी बहस चलिरहेको बताउदै उनले भने- ‘३ वटै निर्वाचन एकैपटक गर्ने एउटा तर्क छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्यो भने राज्यको अर्बौं खर्च वचत पनि हुन्छ । जनतालाई पनि पटक–पटक चुनाव भनेर झञ्झट दिनुभन्दा एकैपटक गर्दा सजिलो हुन्छ ।’ उनले संविधानविद्, कानूनविद् र निर्वाचन आयोगसँग पनि पर्याप्त अन्तरक्रिया गरेपछि एउटा निष्कर्षमा पुग्नु उचित हुन्छ भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच समझदारी भएको बताए ।
कैलालीकाे भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।