कैलाली-कञ्चनपुरमा ३० प्रतिशत धानबाली नष्ट

धनगढी । तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । दुई वटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा नोक्सानी भएको सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।

‘कैलाली र कञ्चनपुरमा वर्षाअघि ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी थियो,’ सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले भने, ‘प्रारम्भिक तथ्यांकअनुसार वर्षाले ढालेर, बगाएर र डुबानबाट बचेको १० प्रतिशत जति होला, यसमा २/४ प्रतिशत तलमाथि हुन सक्छ ।’ स्थानीय तहका कृषि शाखालाई क्षतिको यकिन विवरण संकलन गर्न निर्देशन दिइसकेको उनले बताए । May be an image of body of water३० प्रतिशत धानबालीको क्षतिलाई मात्रै आधार मान्दा पनि कैलालीका करिब एक लाख किसानले दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख खगेन्द्र शर्मा गर्छन् ।

उनका अनुसार जिल्लामा यो वर्ष ७० हजार हेक्टर जमिनमा धान लगाइएको थियो । जसमध्ये २१ हजार हेक्टरमा लगाएको धानबाली वर्षाले नोक्सान पुगेको छ । कैलाली र कञ्चनपुरमा एक हेक्टर खेतमा सरदर ४५ क्विन्टलसम्म धान फल्छ । ‘जसअनुसार ९ लाख ४५ हजार क्विन्टल नोक्सान भएको मान्दा प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले मात्रै हिसाब गर्दा किसानले १ अर्ब ८९ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको देखिन्छ,’ उनले भने, ‘कञ्चनपुरमा पनि करिब १ अर्ब रुपैयाँ हाराहारीमा धानबाली नोक्सान भएको अनुमान गर्न सकिन्छ ।’

मर्कामा परेका किसानलाई राहतको आवश्यकता भएको उनले औंल्याए । कृषिको बालीनाली प्राकृतिक प्रकोप क्षतिपूर्ति तथा राहत मापदण्ड २०७५ अनुसार कैलालीमा मात्रै क्षतिपूर्ति दिन १७ करोड रुपैयाँभन्दा बढी रकम आवश्यक पर्छ ।‘प्रदेश सरकार एक्लैले यति ठूलो रकम एउटै जिल्लाका लागि दिन सक्दैन होला,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहले मिलेर जानुपर्ने देखिन्छ ।’ उक्त मापदण्डमा किसानलाई प्रतिकट्ठा २ सय ६७ रुपैयाँ क्षतिपूर्ति दिइने उल्लेख छ । बर्षासँगै आएकाे बाढी र डुवानले यहाँका अधिकांश तरकारी खेतीसमेत नष्ट भएको छ ।

प्रदेशको कृषि मन्त्रालयका सचिव डा. मदनसिंह धामीले किसानलाई नगदमा राहतभन्दा कृषिका विभिन्न खाले कार्यक्रममा सहयोग र सहुलियत दिन सकिने बताए । पीडित किसानलाई भविष्यमा गहुँबाली, चैते धानलगायत लगाउँदा बीउ र मलमा सहुलियत तथा छुट दिन सकिने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.