हिन्दू धर्मावलम्बीले आज जनैपूर्णिमा मनाइँदै
धनगढी । साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँध्ने चलन छ । जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् ।
जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ । वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ ।
जन पूर्णिमाका अवसरमा नेपालका विभिन्न स्थानमा भव्य भेला लाग्ने गरेको छ । यसमा कैलालीकाे गाेदावरी, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकका पाँच पोखरी, दोलखाको शैलुङ, दोलखा र रामेछापको सिमाना पर्ने जटापोखरी, बाजुराको बडीमालिकालगायत धार्मिक क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ। काठमाडौं उपत्यकामा पाटलको कुम्भेश्वर, काठमाडौको मणिचूड दह लगायतका क्षेत्रमा मेला लाग्छ । पशुपतिनाथ लगायत विभिन्न देवालय तथा मन्दिरमा पूजाआजा गर्ने र रक्षा बन्धन बाँध्ने, बाधिदिनेको गरेको देखिन्छ ।
कोरोना संक्रमणका कारण नियमित पूजाबाहेकका लागि मन्दिर, देवालय खोज्न निषेध गरिएको छ । यस पटक भीडभाड नगरी सामान्य रुपमा जनैपूर्णिमा पर्व मनाउन प्रशासनले आग्रह गरेको छ ।