सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको छ । बुधबारको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गर्दै यस्ताे बताएकी हुन् ।
प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठन सम्बन्धी प्रक्रिया अघि बढ्ने बताइन् । नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो ।
यस अघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको हो । संघीय प्रहरी ऐन जारी हुँदा पनि प्रदेशमा प्रहरी समायोजनको काम विलम्ब भएको मन्त्री जोशीले बताइन् । प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश प्रहरी आवश्यक रहेकोले प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाइएको बताइन् ।
‘प्रदेशमा हुने विपद् व्यवस्थापन द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश सरकार र प्रदेश को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्वयम परिचालन गर्न पाउने प्रहरी प्रशासन आवश्यक थियो’ उनले प्रदेश सभामा भनिन् ।