Dashain Suvakamana

सुदूरपश्चिम प्रदेशकाे बजेट : ‘योजना धेरै, रकम कम, असन्तुष्टि बढी’

धनगढी । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल प्रदेश सभामा सुरु भएको छ ।पहिलो दिन साेमवारको छलफलमा सत्तारुढ दलका दुई जना र प्रमुख प्रतिपक्षी दलका तर्फबाट २ जनाले विशेष सामयमा धारणा राखेका थिए ।

सत्तारुढ दलबाट नेकपा एमालेका अमर साउद र माओवादी केन्द्रका प्रेम प्रकाश भट्टले बजेट माथिको छलफलमा आफ्नो धारणा राखे ।उनीहरु दुबै जनाले बजेट माथि असन्तुष्टि व्यक्त गर्दै समर्थन गरेका थिए ।साउदले विगतमा भन्दा यस वर्षको बजेट केहि सन्तुलित रहेपनि कार्यान्वयनको पक्ष फितलो हुन सक्ने बताए । उनले धेरै योजना र रकम कम रहेको भन्दै सरकार प्रति गुनासो गरे।

‘योजनाको संख्या घटाएर बजेट बढाउनु पर्ने थियो । तर, त्यस्तो भएन ’उनले भने ‘योजना धेरै भए । बजेट कम भयो ।’ माओवादीका सांसद भट्टले बजेटले समृद्धि ल्याउन नसकिने दाबी गरे । ‘गत वर्ष ४० /५० लाख भएका योजनामा अहिले ९/१० लाख आएको छ । यसले योजना सम्पन्न गर्न समस्या हुन्छ’ उनले भने ‘यसरी समृद्धि आउँदैन । काम सम्पन्न गर्न मात्रै पनि ७/८ वर्ष लाग्छ ।’

प्रदेश गौरवका योजनामा समेत कम बजेट आएको भन्दै उनले असन्तुष्टि पोखे । प्रदेश गौरवका योजनाहरू तीव्रता नदिँदा जीर्ण हुने अवस्थामा पुग्न सक्ने उनको भनाइ थियो । उनले भने, ‘पोहोर साल करिब १० करोड बजेट भएको स्थानमा अहिले ३ करोड मात्रै राखिएको छ । ७५ प्रतिशत बजेट घटेको छ। यसरी त समस्या हुन्छ ।

नीति तथा कार्यक्रम पारित गर्दा मौन समर्थन गरेको नेपाली काँग्रेसले पनि बजेट माथिको छलफलमा भने आक्रोश पोखेको छ । नेपाली काँग्रेसका सचेतक टेक बहादुर रैकाले आफ्ना योजना नपरेको भन्दै फिर्ता लैजान आग्रह गरेका थिए । ‘कृषि मन्त्रालयका ४ वटा योजना थियो केहि दिएन । मन्त्रालयका ५ मन्दिर मागे । मेरो फायल नै गायब भयो’ उनले भने, ‘जुन मन्त्रालयले जति दिनुभएको त्यो फिर्ता गर्न तयार छु । ’दलित बस्तीमा ५ लाखको बोरिङ दिएको भन्दै उनले एक लाखले बोरिङ तयार हुन नसक्ने बताए ।

नेपाली काँग्रेसकै प्रदेश सभा सदस्य कर्ण मल्लले पनि सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै भर्त्सना गरे । उनले उक्त बजेट सरकारको लागि गलपासो बन्ने बताए । ‘बजेटमा प्रदेश सभा सदस्यहरूको माग सम्बोधन भएन’ उनले भने, ‘बिचौलियालाई माध्यम बनाएर जुन बजेट तयार गर्नुभएको त्यो तपाइहरूको गलपासो बन्ने छ ।’

उनले प्रदेश सरकारले बजेट मार्फत प्रदेश सभालाई झुक्कायो समेत आरोप लगाए । ‘प्रतिपक्षको मौनतालाई सरकारले कमजोरी ठान्यो । प्रदेश सभालाई झुक्कायो’ उनले भनेका थिए ।सरकारले ल्याएको बजेटले भ्रष्ट्चार प्रसय दिने दाबी गरे ।कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन गरिएको उनकाे आराेप थियाे ।

प्रदेशसभा बैठक आज मंगलबार दिउँसो २ बजे बस्दै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.