बालबालिकामा देखिने मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम के हो ?

काठमाडौं । ललितपुरको एक परिवारका सबै सदस्यलाई वैशाख तेस्रो साता कोरोना संक्रमण पुष्टि भयो । १४ दिन होम आइसोलेसनमा बसे, तीन वर्षको छोरासहित सबै संक्रमण मुक्त भए । जेठको दोस्रो साता बच्चालाई हल्का ज्वरो आयो । ज्वरो सामान्य बेलामा भन्दा फरक भएकाले यसअघि पनि देखाइरहेका चिकित्सकलाई फोन गरे । डाक्टरले भने, ‘भाइरल हुनसक्छ, पारासिटामोल खुवाउनुस् ।’

पारासिटामोलले ज्वरो घटेन, बरु १०३ सम्म पुग्यो । औषधि खाएको केहीबेर ज्वरो घटे जस्तो हुन्थ्यो, फेरि आउँथ्यो । १५ जेठको विहान बालरोग विशेषज्ञ डाक्टर अरुण शर्मा कहाँ पुगे । त्यो दिन बच्चाको आँखा रातो हुनुका साथै जिब्रोमा खटिरा आएको थियो । ओठ पनि अरुबेला भन्दा भिन्न देखिएको थियो । डा. शर्माले पोष्ट कोभिड इन्फेक्सनको आशंका गर्दै परीक्षणहरु गराए ।

साँझ रिपोर्टले पनि त्यही संकेत गरेपछि उनीहरु भोलिपल्ट त्रिवि शिक्षण अस्पताल भर्ना भए । बच्चालाई पीआईसीयूमा भर्ना गरे । मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) को संक्रमण भएको पत्ता लगाएपछि चिकित्सकहरुले उपचार सुरु गरे । केही दिनको उपचारपछि बच्चा ठीक भएका छन् । मुटुको तीन वटा नसा फुलेको थियो, २ वटा ठीक भएको छ, अर्को रिकभरीको चरणमा छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शर्माका अनुसार अहिलेसम्म करिब आधादर्जन बालबालिकामा यो संक्रमण भएर अस्पताल आएका छन् । अस्पतालमा भर्ना भएका बालबालिकामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, वान्ता गर्ने, पखला हुने, शरीरमा डाबर आउने, प्रेसर लो हुने लगायतका समस्या देखिएका थिए ।

अस्पतालमा भर्ना भएकामध्ये एकजना उपचाररत छन् भने अरु निको भएर घर फर्किएका छन् । उनका अनुसार बालबालिकामा देखा पर्ने फरक खालको यो संक्रमणको उपचारमा इन्टरभेनस इम्यूनोग्लोबुलिन, स्टेरोइड र अन्य एन्टि–इन्फ्लेमेटरी औषधि प्रयोग हुन्छ । लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, वान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखा परे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउन उनले आग्रह गरेका छन् ।एमआईएस–सीको समस्या भएका बालबालिकामा शरीरको विभिन्न अंगमा समस्या देखिने भएकाले कोरोना संक्रमण भइसकेका अभिभावक बढी चनाखो हुनुपर्ने उनको सुझाव छ ।

के हो एमआईएस–सी ?

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो ।यो सामान्यतया कोरोना संक्रमित भएको दुईदेखि ४ हप्तापछि देखा पर्ने हुन्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार निकै कम मानिसमा देखिने यो रोग खतरानाक पनि हुन सक्छ । अप्रिल २०२० मा अमेरिका र बेलायतका अस्पतालमा उपचाररत बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी) देखिएको थियो । यस्तो अवस्थालाई पेडियट्रिक इन्फ्लेमेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस) पनि भनिन्छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.