तराइमा उच्च बेगको हावाहुरी र भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाण्डाैं । मौसमविद्हरुले धेरै शक्तिशाली भनेको चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेको छ । उक्त चक्रवातको असरस्वरुप अहिले देशका विभिन्न भागमा पानी परिरहेको र आउँदा केही दिनसम्म पनि यसको असर नेपालका भू–भागमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यसबाट बच्न सतर्क रहन मौसमविद्को आग्रह छ ।
आज विहीवार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । र उक्त प्रदेशका तराईका भू–भागमा उच्च बेगको हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् मञ्जु बासी प्रि–मनसुनको सिजनमा हावाहुरी चल्ने भए पनि अहिले चक्रवातका कारण सामान्य समयमाभन्दा ठूलो हावाहुरी चल्ने भएकाले त्यसबाट बच्न सतर्क रहन आग्रह गर्छिन् । उनले गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको बताइन् ।
काठमाडौंमा आज दिउँसो केहीबेर पानी रोकिए पनि त्यसपछि पुनः पर्न सुरु हुने छ । “आज विहानैबाट पानी परिरहेको छ । दिउँसो केही समय रोकिए पनि फेरि वर्षा सुरु हुन्छ । दिनमा भन्दा राति अझ धेरै पानी पर्नेछ,” मौसमविद् मञ्जु भन्छिन्, “गत २४ घण्टामा २८.२ मिलिमिटर पानी परेको थियो । आज त्योभन्दा धेरै पानी पर्नेछ ।”
यो क्रम शनिबार साँझसम्म रहने उनको भनाइ छ । शनिबार साँझबाट क्रमशः खुल्दै जाने देखिएको मौसमविद् मञ्जु बताउँछिन् ।