सशक्त जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनको आह्वान
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने कदमलाई ‘कू दे ताँ’ ठहर गर्दै बृहत् नागरिक आन्दोलनले त्यसविरुद्ध सशक्त जनआन्दोलन सिर्जना गर्न आह्वान गरेको छ।
‘हिजो करिब दुई तिहाईको निर्वाचित सरकारको नेतृत्व गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहे,’ सार्वजनिक वक्तव्यमा भनिएको छ, महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला उनले मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध हो।’
यो संकटको क्षणमा आमजनतालाई मतपत्र नभई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको बृहत् नागरिक आन्दोलनले स्मरण गराएको छ। ‘जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ। सुशासन प्रत्याभूत गर्ने जनउत्तदायी सरकार चाहिएको छ, सत्ताकब्जा होइन।
जनस्वास्थ्यको संकट सामना गर्ने बृहत्तर सहकार्य चाहिएको छ, महाव्याधिको संकटलाई कूका निम्ति दुरुपयोग गर्ने षड्यन्त्र होइन। लोकतान्त्रिक विधि, संस्था र मूल्यमान्यताको उत्तरदायी अभ्यास चाहिएको छ, कार्यकारी र संवैधानिक निकायहरुको षडयन्त्रमूलक कब्जा होइन’, वक्तव्यमा भनिएको छ।