मालपोत कार्यालय कैलालीले अव बारअनुसार सेवा दिने
धनगढी । कोभिड–१९ को जोखिम बढेपछि भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ। अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ।
कोभिड –१९ को संक्रमण रोकथामका लागि धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार कार्यालयबाट सेवा पाउनेछन्। मंगलबार र बुधबार गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका नागरिकलाई सेवा दिइने कार्यालयले जनाएको छ।
यस्तै घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकले बिहिबार र शुक्रबार सेवा पाउने भएका छन्। यसैगरी मुद्दा फाँटसँग सम्बन्धित कार्यका लागि धनगढीवासीले आइतबारदेखि मंगलबारसम्म सम्पर्क राख्न सक्नेछन् भने बुधबारदेखि शुक्रबारसम्म अन्य स्थानीय तहका नागरिकलाई सेवा दिइने भूमिसुधार तथा मालपोत कार्यालयले बताएको छ।
साथै कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।