व्यथा चिर्ने गाथा बोकेको तस्वीर : जो संसारले हेर्दैछ
राजु पाैडेल
काठमाडौं । जब हजार शब्द बोल्नसक्ने तस्वीर (फोटो) मा दृष्टि पुग्छ, तब मनसम्म त्यसले स्पर्श गर्छ। आँखाको बाटो हुँदै हृदयलाई छुन पुग्छ।तस्वीरको गहनता नाप्ने एकमात्रै भरपर्दो विधि यही हो : त्यसले मथिंगल र हृदय हल्लायो या हल्लाएन। अरू नापजाँच त प्राविधिक कुरा न हुन्।
तस्वीरले हजार शब्द बोल्छ, त्यसभन्दा पनि धेरै। अझ, शब्दमा तुन्न नसकिने सन्देशहरू एउटै तस्वीर भएर फैलिदिन्छन्। एकजना नेपालीले खिचेको तस्वीर यस्तै छ, जुन तस्वीरले संसारका धेरै मानिसको मथिंगल र हृदय हल्लाइरहेको छ।यो तस्वीरमा एक महिलाले एक बालकलाई ह्विलचियरमा राखेर विद्यालय लैजाँदै गरेकी छिन्।
भित्तामा लेखिएको छ, ‘नो हर्न प्लिज’
नजिकै विद्यार्थी र शिक्षिका अध्ययन-अध्यापनमा व्यस्त छन्। यो कुनै विद्यालयको प्राङ्गणमा हो।
यो तस्वीर आफ्नो क्यामरामा खिमकाजी लामिछानेले कैद गरेका हुन्। पोखराका लामिछानेले अमेरिकाका वरिष्ठ फोटो पत्रकार मार्कस ब्लिज्डेलद्वारा आयोजित प्रतियोगिता युरोडिस फोटो अवार्डमा दुर्लभ रोगबाट पीडित बच्चालाई विद्यालय जान ह्विलचेयरमा सघाइरहेकी महिलाको तस्वीर पठाएका थिए।
उनले यो तस्वीर सन् २०१८ मा खिचेका हुन्। ११ वर्षीय बालक आफ्नै छोरा अनिमेष लामिछाने र ह्विलचियरमा राखेर विद्यालय पुर्याउँदै गरेकी श्रीमती दुर्गा केसी लामिछानेको फोटो रहेको उनले सुनाए ।
ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) अर्थात सजिलै हाड भाँचिने दुर्लभ रोगबाट ग्रसित नेशनल इन्भेन्टिभ बोर्डिङ स्कुल बैदाम, लेकसाइडमा कक्षा ५ मा पढ्ने जुनियर लामिछानेको शरीरको हाड अहिलेसम्म ४० भन्दा धेरैपटक भाँचिइसकेको छ।
ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने रोग हो । यो समस्या एक लाखमा एक जनामा देखिएको बताइन्छ।
युरोडिसब्ल्याकपर्ल अवार्ड २०२१ को यो १० औँ संस्करण हो । यस प्रतियोगितामा ३० देशका फोटोग्राफरले खिचेका कूल २ हजार ७३ वटा फोटो आइपुगेका छन्।
जारी प्रतियोगिताको फाइनलमा नेपालका लामिछानेसहित आइसल्याण्ड, स्लोभाकिया, संयुक्तराज्य अमेरिका र अष्ट्रियाका फोटोग्राफरहरूले खिचेका तस्वीर प्रतिस्पर्धामा छन् ।
प्रतियोगितामा फोटोग्राफरले कुनै दुर्लभ रोग लागेर बाँचिरहेको व्यक्तिको जीवनशैलीलाई उजागर गर्ने शैलीको फोटो पठाउनुपर्ने नियम थियो। यो तस्वीर नै किन प्रतिस्पर्धाका लागि उनले छनोट गरे त?
‘फरक क्षमताका व्यक्तिहरूको जीवनशैलीलाई हामीले नजरअन्दाज गर्न सकिँदैन,’ उनी भन्छन्, ‘मेरो छोरामात्र होइन, नेपालमा धेरै व्यक्ति यस्तै र दुर्लभ रोगबाट पीडित हुनुहुन्छ। उनीहरू घरमा थुनिन बाध्य छन्, कुनै रोगका कारणले फरक क्षमताका व्यक्तिले विद्यालय टेक्न पाएका छैनन्। उनीहरूको हड्डी भाँचिएपनि पढ्ने इच्छा हामीले भाँच्न हुँदैन भन्ने सन्देश दिन मैले यो तस्वीर छनोट गरेको हुँ।’
लामिछाने दम्पतीको दैनिकी हरेक दिन बच्चालाई विद्यालय पुर्याउने र ल्याउने नै हुन्छ। यो दैनिकी देखिरहेका कतिपयले उनीहरूलाई भन्ने गर्छन्, ‘रोग लागेको व्यक्तिलाई किन पढाउँछौं?’
फरक क्षमता भएका व्यक्तिले पढेर के गर्छन्? भनेर परम्परावादी सोच राख्ने समाजमा रहेका व्यक्तिहरूको यस्ता प्रश्नले उनीहरू दु:खी हुँदैनन्। किनभने, यो समाजमा उनीहरू अभ्यस्त बनिसकेका छन्।
जस्तोसुकै रोग लागेपनि भोलिका दिनमा दयाको पात्र बनेर समाजमा उसले जीवन बाँच्न नपरोस् भन्ने कुरामा आफूहरू सचेत रहेको लामिछाने बताउँछन्।
‘अहिले उसलाई पीडा होस्, तर संसार बुझ्नुपर्छ। बुझ्नलाई पनि पढ्न जरुरी छ। यहाँ आफ्नो अस्तित्व स्थापित गर्न र दुनियाँसँग लड्न शिक्षा अपरिहार्य छ। आज पो बच्चाका लागि उसका बुबा आमा छौं। उसको जीवन रक्षाका लागि उसका बुबाआमाहरू सधैँ बाँचिरहँदैनन्। उ आफैँ बाँच्नुपर्छ। यसकारण उ जून अवस्थामा छ: त्यसरी नै उसलाई अगाडी बढाउनुपर्छ’, उनी भन्छन्, ‘यो फोटो देखाउनुको मूल उद्देश्य नै मैले आफ्नो फरक क्षमता भएको छोरालाई पढाइरहेको छु भने तपाईंका वरीपरि रहेका फरक क्षमता बच्चाहरूलाई जसरी नी विद्यालय पठाउनुस्। चाहे उनीहरू ह्विलचियरमा बसुन् या बोकेर लैजान किन नपरोस्!’
यसरी खिचियो तस्वीर
फरक फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरूको तस्वीर उनले कैद गरिरहेका हुन्छन्। ती तस्वीरहरू उनले प्रतिष्पर्धामा पठाएका छैनन्। ‘फरक-फरक क्षमताका व्यक्तिको तस्वीर मसँग भएपनि समय सान्दर्भिकता हेर्नुपर्छ। अर्को कुरा प्रतिष्पर्धामा पठाउन सम्बन्धित व्यक्तिको अनुमति चाहिन्छ’, उनले भने।
यद्यपी; सामाजिक संजालमा भने उनले त्यस्ता तस्वीरहरू सार्वजनिक गरिरहेका हुन्छन्। प्रतिष्पर्धामा परेपछि यो तस्वीर चर्चामा आएको हो।
के लामिछानेले यो तस्वीर कुनै प्रतियोगिताका लागि भनेर खिचेका थिए त? उनी यसको सहजै उत्तर दिन्छन्, ‘म मेरो छोरोको हरेक क्रियाकलाप तस्वीरमा कैद गरिरहेको छु। जतिबेला उ बुझ्ने हुन्छ : उसले बुझोस् कि म संघर्षले यहाँसम्म आइपुगेँ, कठिनाइहरू पार गरेँ।’
उनले प्रतियोगिता होला र पठाउँला भनेर खिचेको भए तस्वीरलाई सुन्दर कोणबाट अझ प्रभावकारी तरिकाले खिच्न सकिने, तर आफूले कुनै प्रतिष्पर्धाका लागि भनेर नखिचेको बताए।
करिब २० वर्ष अघिदेखि क्यामरा चलाउन थालेका लामिछानेको अन्तराष्ट्रिय प्रतियोगिता पुगेको यो पहिलो तस्वीर हो। तस्वीरको माध्यमबाट सामाजिक मूल्य र मान्यता, पर्यटकीय क्षेत्र र मानव जीवनको चरित्र देखाउन रुचाउने खिमले आफूले कैद गरेका तस्वीरहरूको प्रदर्शनी राष्ट्रिय स्तरमै गरिरहेका छन्।
कहिले हुन्छ प्रतिस्पर्धाको फाइनल?
रेयर डिजिज डे (दुर्लभ रोग दिवस) फेब्रुअरी २८ अर्थात फागुन फागुन १६ गते पर्छ।
प्रतिस्पर्धाको फाइनल चाहिँ २४ फेब्रुअरी (फागुन १२ गते) हुने भएकाले सामाजिक सञ्जालमा प्राप्त भोटलाई आधार मानेर विजेता चयन गरिने प्रावधान रहेकाले आफूलाई साथ दिन उनले आग्रह गरे।
फेब्रुअरी २४ को साँझ प्रत्यक्ष प्रसारणमार्फत अवार्ड समारोह गरिनेछ, जसबाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो भोटको आधारमा निर्णायक नतिजा घोषणा गरिने कार्यक्रम रहेको युरोडिसको वेबसाइटमा उल्लेख गरिएको छ।थाहा खबरवाट