प्रतिगमनबिरुद्ध सुदूरपश्चिमेली जनताकाे खबरदारी, प्रचण्ड-नेपाल उत्साहित
धनगढी । आफ्नाे सत्ता जाेगाउन प्रतिनिधिसभा बिघटन गरेर प्रतिगमनतिर लागेका प्रधानमन्त्री केपी ओलीकाे कदमबिरुद्ध आज पुन: सुदूरपश्चिमेली जनता धनगढीमा उर्लेका छन् । साेचे भन्दा बढी लाखाैं जनता धनगढी पुगेपछि व्यबस्थापन गर्न आयाेजकलाई नै हम्मे हम्मे परेका बेला पार्टी अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल भने थप उत्साहित भएका छन् ।
विशाल जनसभालाई सम्बाेधन गर्दै नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई सुदूरपश्चिमका जनताले फुच्चे बनाइदिएको भन्दै सुदूरपश्चिमका जनतालाई धन्यवाद दिए । ‘अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु,’ उनले भने।
प्रचण्डले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए । केपी ओलीको पार्टीको पक्षमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा एक तिहाइ पनि नपुगेको दाहालको दाबी छ। ‘सुदूरपश्चिमका जनता महान छन्,’ उनले भने। उनले सुदूरपश्चिमका जनता झुक्दैनन् भन्ने सन्देश आफूले विश्वमा पुर्याउने बताए।
यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्दै संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन ।’
अघि भने, ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले । त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ । त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन् ।’