भ्रष्टाचार खाेज्नआएका ज्ञानेन्द्र शाहीलाई मुख्यमन्त्री भट्टकाे प्रश्न ‘साँचिक्कै हाेकी हिस्सा खाेज्न’
धनगढी । भ्रष्टाचर विरोधी अभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भाग खोज्नका लागि अभियान सञ्चालन गरेको त होइन भनेर कटाक्ष गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरेका कार्यक्रमको खर्चको लिखित विवरण माग गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेको उनको समूहलाई मुख्यमन्त्री भट्टले दुई थरिका भ्रष्टाचार बिरोधी अभियान सञ्चालन हुँदै आएको बताए। उनले राजनीतिज्ञ, मन्त्री, सरकारी कर्मचारी सबैले भ्रष्टाचार रोक्नुपर्ने बताएपनि कम नभएको भन्दै अभियान सञ्चालन गर्दै आएकाहरु माथि समेत आशंका व्यक्त गरेका हुन्।
मुख्यमन्त्री भट्टले भने, “भ्रष्टाचार बिरुद्दको अभियान सञ्चालन तपाईहरुले गर्नुभएको छ। राम्रो अभियान हो, भ्रष्टाचार रोक्नुपर्छ त सबैले भन्छौ। रोकिदैन किन् ? सबैले भन्दा पनि नरोकिदाको पछाडिको कारण खोज्नुपर्यो। त्यो कारण जबसम्म खोज्न सक्दैनौ, तबसम्म सायद मलाई लाग्छ अभियान जोरले चलाउनुपर्ने देखिएको छ।”
नले २ तरिकाबाट भ्रष्टाचार बिरुद्दको अभियान सञ्चालन हुँदै आएको बताए। “दुई तरिकाले अभियान सञ्चालन भइरहेका देखिएको छ। एउटा साँचिक्कै भ्रष्टाचार रोक्नका लागि, एउटा त्यसमा हिस्सा खोज्नका लागि। त्यसकारणले यो कुरालाई मध्यनजर गरेर यसको पछाडिको कारण खोज्नु भयो भने, त्यसमा बढी सफल्ता मिल्छ। आमजनतालाई पनि जोड्यौ भने, नागरिक समाजलाई जोड्यौ भने बढी सफलता मिल्छ। भ्रष्टाचार रोक्न सकिन्छ। त्यसको पक्षधर म पनि हो। कतिको रोक्न सकियो, त्यो समयले देखाउनेछ”, उनले भने।
हाम्रो नेपाल, हामी नेपालीका संयोजक शाहीले मुख्यमन्त्री भट्टलाई सुशासनका लागि थालिएको भ्रष्टाचार बिरुद्धको महाअभियान भाग खोज्नका लागि नभएको स्पष्ट पार्दै फोर्जी घोटाला, एन्सेल घोटाला लगायतका मुद्दाहरु अभियानले उठाएको दाबी गरे।