मोटरसाइकल दुर्घटनामा परि धनगढीमा एक प्रहरीको मृत्यु
धनगढीमा निर्माणाधीन हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी मृत्यु भएको छ। जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी बिहीबार बिहान धनगढी-७ मनेहराको सडकखण्डको निर्माणाधीन कर्ल्भट तल मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चौधरी बिहान ५ बजे मृत फेला परेको बताए। ‘उनी अनड्युटीमै थिए। दुर्घटना कति बेला भयो भन्ने प्रहरीले अनुसन्धान गर्दैछ,’ उनले भने। मृतक चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ।