माघे सक्रान्ती : कतै स्नान पूजापाठ, कतै सद्भावकालागि नाँचगान
धनगढी । माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा आयोजना हुँदै आएको बाह्र राशि दर्शन मकर मेला यसवर्ष कोरोना कहरका कारण प्रभावित भएको छ। मेला प्रभावित भएपनि स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।
माघीको दोस्रो दिन अर्थात् १ माघ बिहानै नदी खोलामा नुहाइ–धुवाई गरेपछि पूजापाठ गरिन्छ । त्यसपछि गाउँटोलमा गई आफूभन्दा ठूला मान्यजनलाई ढोगेर आशीर्वाद लिने तथा सानालाई आशीर्वाद र दक्षिणा दिने चलन छ । १ माघबाट थारू संवत् सुरु हुने गर्दछ, त्यसैले थारू समुदायले १ माघलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् ।
‘आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले यो पर्वले आपसी सद्भाव बढाउने काम पनि गरेको हुन्छ,’ थारू कल्याणकारिणी सभा कैलालीका पूर्वसभापतिसमेत रहेका चौधरी भन्छन्, ‘खास गरेर खानपान, नाचगान रमाइलो गरेर नै यो पर्व मनाइन्छ ।’ मासु, जाँड अनिवार्यजस्तै हुने उनले बताए ।