नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा
धनगढी । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ। थापा आमसभालाई सम्बोधन गर्न अछाममा पुगेका थिए। अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको गाडीमा तोडफोड गरेका हुन्।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका युवा तथा विद्यार्थीले थापा सवार प्रदेश ३-०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका थिए। युवा संघका केन्द्रीय सदस्य दीपक कुँवरले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीको पक्षमा जनता भड्काउन आउनेहरूलाई लखेटिने चेतावनी दिए।
समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका हुन्। अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले थापा चढेको गाडीमा ढुंगा लागेको बताए। ‘धेरै तोडफोड भएको होइन। दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको हो। सिसा चर्किएको छ,’ उनले भने।
बैठक समापनपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। उक्त समूहको खोजी भइरहेको उनले बताए।