प्रतिनिधिसभा विघटनप्रति राष्ट्रियसभामा आलोचना,अर्को बैठक पुस २३ गते
राष्ट्रियसभाको अर्को बैठक पुस २३ गते सम्मका लागि स्थगित भएको छ। राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु थियो। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक पुस २३ गते बस्ने जानकारी गराए।
शुक्रबारको बैठकमा बोल्ने नेताहरुले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्रीको आलोचना गरेका थिए। राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो भन्दै प्रश्न गरे। बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित जनप्रतिनिधि संस्था प्रतिनिधि सभा सहिद हुन पुगेको र त्यो सुखद नभएको बताए।
‘दलभित्रको अन्तरविरोधको असर जनप्रतिनिधिमूलक संस्थामा असर पर्नु त्यो त्यति राम्रो र सुखद छैन। प्रतिनिधि सभा किन विघटन हुनुपर्यो? उचित छ कि छैन? त्यो एउटा छलफल र बहसको विषय छ। अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’, उनले भने।