
धनगढी। विकासदेखि पर्यावरण स्वच्छतामा चर्चा पाइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाले अर्को वाहवाहीको कार्य गरेको छ । लक्ष्मी पूजाको रात भारतको खिरीस्थित सीमावर्ती बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा लिने कार्य गरेपछि अहिले धनगढी उपमहानगरपालिकाको सर्वत्र प्रशंसामात्रै भइरहेको छैन, मानवीय सहयोगमा अन्तर्राष्ट्रिय सीमा बाधक हुनुहुँदैन भन्ने चर्चा चलिरहेको छ ।
धनगढीभन्दा केही किलोमिटर टाढा रहेको भारतको सीमावर्ती बजार वनगाउँमा आइतबार राति भीषण आगलागी भएको थियो । वनगाउँ बजारमा आगलागी भएको खबर पाए लगत्तै धनगढी उपमहानगरपालिकाको कार्यालयले आफ्नो नगर प्रहरी, तीन वटा दमकल र एक ओटा ब्याकुलोडर पठाएर मानवीय सहयोग गरेको थियो ।
साँझ साढे ६ बजे वनगाउँ बजारमा आगलागीको खबर आएपछि ब्याकुलोडरले फायर लाइन बनाउने र तीन वटै दमकलले तीन/तीन पटक पानी भरेर राति साढे १२ बजे आगलागी नियन्त्रणमा लिने कार्य भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गाेपाल हमालले जानकारी दिए । आगलागीबाट अत्यधिक पसलमा क्षति भएको जनाइएको छ । बेलैमा धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणको कार्य नगरेको भए बजारका पुरै पसलहरु जलेर खरानी बन्ने निश्चित रहेको बताइएको छ ।
धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीहरु अग्नी नियन्त्रण सम्बन्धी तालिम प्राप्त छन् । वनगाउँ बजार आसपासमा भारतीय सुरक्षाकर्मी (सीमा सुरक्षा बल) र प्रहरीको कार्यालय रहे पनि उनीहरुसंग आगलागी नियन्त्रणका उपकरण छैनन् । वनगाउँ बजारभन्दा करिब २५ किलोमिटरको दूरीमा भारतीय सहर पलिया रहे पनि त्यहाँबाट दमकल आउँदासम्म अत्यधिक क्षति हुने देखिएपछि मानवीय सहयोगका लागि धनगढी उपमहानगरपालिकाले आफ्नो तालिम प्राप्त जनशक्ति र अग्नी नियन्त्रण उपकरण पठाएर आगो निभाउने कार्यमा सहयोग गरेको बताइएको छ ।
