Dashain Suvakamana

पर्यटकीय गन्तव्य बनाउन अपिको आधार शिविरमा पर्यटन उत्सव

Ajai

धनगढी । दार्चुलाको अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित पर्यटन उत्सव सुरु भएको छ। अपिहिमाल गाउँपालिका–१ स्थित अपि हिमालको आधार शिविरमा पर्यटन उत्सव सुरु भएको हो। पर्यटन उत्सवको सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले उद्धाटन गरे। उत्सवका लागि मुख्यमन्त्री भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी अपि पुगेका थिए।

सुदूरपश्चिमको सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल पर्यटनका दृष्टिकोणले निकै सम्भावना बोकेको क्षेत्र हो। तर, अपि हिमालको आधार शिविरसम्म हालसम्म न्यून संख्यामा मात्रै पर्यटक पुग्दै आएका छन्। अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार पर्यटन उत्सव १९ गतेसम्म सञ्चालन हुनेछ।

उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकार, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना भइरहेको छ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। ‘यसको मुख्य आकर्षण अपि हिमालको आधार शिविरमै आयोजना गरिने क्रिकेट खेल रहनेछ,’ उनले भने, ‘यसले उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.