Dashain Suvakamana

‘अर्णव’ चक्रवातको प्रभाव सुदूरपश्चिममा देखिएपनि डराउनु पर्दैन्

Ajai

धनगढी । बङ्गालको खाडीमा विकसित शक्तिशाली अर्णव चक्रवातको प्रभावले सुदूरपश्चिम प्रदेशमा केही प्रभाव देखिए पनि डराउनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रवेश गर्दासम्म शक्तिशाली चक्रवात न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेकाले प्रदेशमा यसको प्रभाव कम हुने देखिएको हो ।

चक्रवातको प्रभावका कारण सिमसिमे पानी भने पर्ने जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिन अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहले बताए । उनका अनुसार चक्रवात आउँदाआउँदै न्यूनचापीय क्षेत्रमा परिणत हुँदै कमजोर हुने सम्भावना देखिन्छ । यसले गर्दा बिहीबार रातिबाट सिमसिमे पानी परे पनि खोलानालामा बाढी आउने सम्भावना भने देखिँदैन तर पहिरो र हिमपातको जोखिम रहेका कारण सतर्क रहन भने जरुरी छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘अर्णव’ चक्रवातका कारण सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार दार्चुला, बझाङ र बाजुरामा भने हिमपातको सम्भावना रहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढ्ने भएका कारण यी तिनै जिल्लालाई सुन्तला रङले सङ्केत गरी सतर्क रहन आग्रह गरिएको छ । यस्तै तराईका कैलाली, कञ्चनपुर र पहाडी जिल्ला डोटी, अछाम, डडेलधुरा तथा बैतडीलाई पहेँलो रङले सङ्केत गरिएको छ । यी जिल्लालाई भने अद्यावधिक रहन आग्रह गरिएको छ ।

चक्रवातको प्रभावले गर्दा प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने र त्यसले गर्दा जनजीवन प्रभावित हुन सक्ने भएकाले तीन जिल्लालाई सतर्कताको सूचीमा राखिएको इन्जिनियर साहको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.