धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले करीब तीन महिनापछि ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा सत्तारुढ दलभित्र विवाद भएको छ । बिवादकैवीच बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो तर, सत्तारुढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।
आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । विचौलियामार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारुढ दलकै सांसदले लगाएपछि विवाद बढेको हाे । प्रदेश सभा सचिवालयले बजेटमाथि छलफल गर्न अव मंगलबार बिहान ९ बजे बस्नेगरि बैठक बोलाइएको जनाएको छ ।
एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको हो । सरकारमा रहेका मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट देखिएका छन् । मन्त्री तथा सांसदहरूले आवश्यकता र प्राथमिकताभन्दा पहुँचका आधारमा योजना छनोट भएको, साना योजनामा बजेट छरिएको र स्वास्थ्य, पूर्वाधारजस्ता क्षेत्रमा अपेक्षित बजेट नपरेको भन्दै बजेट पुनरवलोकनको माग गरेका छन्। आफुहरुले दिएका याेजना फेरबदल गरिएका उनीहरुकाे आराेप छ ।
‘बजेटलाई अर्थमन्त्री वा अर्थसचिव कस्ले चलाएकाे हाे’ भन्ने विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाएका छन् ।
