बैतडी। वर्षायाममा तहस नहस (भत्किएर छिन्नभिन्न) भएका ग्रामिण सडकहरु मर्मत नहुँदा बैतडीका ग्रामीण भेगका किसानले उत्पादनहरु बजारसम्म पुर्याउन समस्या झेल्नु परेको छ । चाडपर्व नजिकिँदै गए पनि सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य कृषि उपज बारीबाट बजारसम्म पुर्याउन नसकिएको किसानले बताएका छन् ।
चाडपर्वका बेला पहाडबाट तराई र तराईबाट पहाडतर्फ आवतजावत गर्ने यात्रुको सङ्ख्या बढ्ने भए पनि ग्रामीण क्षेत्रका कच्ची सडक समयमै मर्मत नहुँदा यात्रुले समेत सास्ती खेप्नु परेको छ । बारीमा उत्पादन भएका बन्दा, काउली, काँक्रो, फर्सी, पिँडालुलगायतका कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको पुर्चौडी नगरपालिका–२ का किसान प्रेमबहादुर बमले जानकारी दिए । “बजारमा माग बढ्ने समयमा उत्पादन बिक्री गर्न नसक्दा बारीमै तरकारी सड्न थालेको छ,” उनले भने ।
यातायात व्यवसायी राम विष्टले सामान्य समयको तुलनामा चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले ग्रामीण सडकको अवस्था सुधार गर्न ढिलाइ गर्न नहुने बताए । सडकको अवस्था कमजोर हुँदा यातायात सञ्चालनमा समेत समस्या हुने उनकाे भनाई छ । यसैबिच चाडपर्वका समयमा जिल्लामा सहज आपूर्ति, यातायात तथा आवतजावत, सडक मर्मतसम्भार, सरसफाइ तथा सुरक्षा व्यवस्थालगायतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए ।
पाटन नगरपालिका आलु उत्पादनका लागि, दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया, शिवनाथ गाउँपालिका तरकारी उत्पादनका लागि तथा डिलासैनी गाउँपालिका तरकारीसँगै उखु उत्पादनका लागि परिचित रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख सुशील न्यौपानेले बताए । कृषि उपजको उत्पादन बढ्दै गए पनि सडक तथा बजारको पहुँच सहज नहुँदा किसानले उत्पादनको उचित लाभ लिन समस्या हुने गरेको उनले बताए ।