बाजुरा । बाजुरामा गएराति परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठूला नदीहरूमा पानीको बहाब उच्च बढेको छ । बाढी पहिराेले साँफे–मार्तडी राजमार्ग पुर्णरुपमा अवरुद्ध भएकाे छ ।
बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाटलगायत विभिन्न खोलामा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्ग समेत अवरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सबै सवारीसाधन पूर्णरूपमा ठप्प भएका छन् । त्यस्तै पहिरोको कारण राप्कास्थित टोट्के सिंचाई नहरसमेत क्षतिग्रस्त भएको छ। कैयौं खेतीयोग्य जमिन बगरमा परिणत भएका छन्। बाजुराका १५० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । बाजुरा जिल्लाका अधिकांश भूगोल बस्न लायक छैनन् । अधिकांश बस्ती भिरालो जमिनमा भएकोले बर्सेनि पहिरो जाने गरेको छ ।