दार्चुलाका बासिन्दा महाकाली वार-पार गर्न तुइनमै निर्भर

दार्चुला। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ । यहाँका बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्ने तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी वार-पार गर्न तुइन प्रयोग गर्न बाध्य छन् ।

तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती व्यास गाउँपालिका–२, दुम्लिङका स्थानीय बासिन्दा । तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुन्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन् । यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्बाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वारपार गर्ने गर्छन् ।

महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ । यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वारपार गर्नुपर्ने बाध्यता बनेको छ । वर्षात्मा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन् । यहाँका स्थानीयवासीले बर्सौंदेखि सो स्थानमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेका भए पनि समस्याको अझै समाधान हुन सकेको छैन ।

तुइन तरेर भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आउन एकदेखि डेढ घण्टा मात्रै लाग्छ भने नेपालबाट गाडीमा एक दिन तथा हिँडेर दुई दिनसम्म लाग्ने गरेको छ । भारततर्फ कालोपत्रे सडक छ भने नेपालतर्फको सडकमा सुन्सेराभन्दा माथिको क्षेत्रमा गाडी चल्न सक्ने अवस्था छैन । तुइनकै जोखिमपूर्ण यात्रा गर्ने क्रममा हालसम्म यहाँका ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.