धनगढी। सुदूरपश्चिमको राजधानी रहेको प्रदेशकै सुगम जिल्ला कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ कर तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् ।
पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ । सो पालिकाले वडा नम्बर ३ को खोनपुर घाट, वडा नम्बर ४ को भितरिया घाट र वडा नम्बर ५ को गोबरैला घाट ठेक्का दिँदै आएको छ ।
स्थानीय तहले एकीकृत सम्पत्ति, घरजग्गा कर, भूमि कर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी कबाडी र जीवजन्तु कर र सेवा शुल्क उठाउन पाउने व्यवस्था भएपनि ऐनमा काठेपुल निर्माण वा डुङ्गा सञ्चालनका लागि घाट ठेक्का दिन पाउने स्पष्ट व्यवस्था छैन ।
नदीमा काठेपुल वा डुङ्गा सञ्चालनका लागि स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट व्यवस्था नरहे पनि घाट ठेक्काको अभ्यास अन्यत्र पनि भइरहेकाले कैलारी गाउँपालिकाले पनि ठेक्का दिएको सूचना अधिकारी यगम कलेलले बताए ।