Dashain Suvakamana

सुदूरपश्चिममा दशैँमा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ । घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । यस्तै कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् । यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.