धनगढी। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवारका लागि यही पुस १५ सम्म सातवटै प्रदेशबाट आकांक्षीको नाम मागेको छ । सुदूरपश्चिममा खुल्ला, महिला र अपाङ्ग/अल्पसंख्यक गरी तीन जनाको चुनाब हुने छ ।जसकालागि केही नयाँ र केही अवसर पाएकाहरू आकांक्षी रहेको एक केन्द्रीय सदस्यले बताए ।
प्रदेशलाई नाम दिन निर्देशन गरेर केन्द्रमा भने पदाधिकारीकै बारेमा दबाब बढ्न थालेको छ। माओवादीका एक केन्द्रीय सदस्य अघिल्लो वर्ष चुनाव हारेकाहरूकै बारेमा चर्चा चलेको भन्दै उनीहरूलाई पुनः अवसर दिन नहुने बताउँछन्। यता, सुदूरपश्चिम प्रदेश कमिटीले पनि एक/दुई दिनमा सिफारिस गर्ने योजना बनाएको नेता खगराज भट्टले जानकारी दिए । उनले भने, ‘आकांक्षी हुनुहुन्छ । एक/दुई दिनमा बैठक बसेर नाम टुङ्ग्याएर केन्द्रमा पठाउने तयारी गरेका छौँ ।’
सुदूरपश्चिममा पनि आकांक्षीको लर्को छ । ‘केही नयाँ साथीहरूले आकांक्षा देखाउनुभएको छ । केही एकपटक अवसर पाएका साथीहरूले पनि आकांक्षा राखेका छन् । तीन जनामा कस–कसलाई सिफारिस गर्ने हो, अप्ठेरो छ,’ उनले भने ।
सुदूरपश्चिमबाट पूर्वसभासद देवराज रेग्मी, लक्ष्मण जोशी, देवीलाल चौधरी, हरि ज्ञवाली, रेणु चन्द, वीरमान चौधरी आकांक्षी छन् । नयाँमा घाइते र महिला रहेका छन्, जसमा जितबहादुर करिया कंगरुन, प्रेम बयक र गम्भीर थापा घाइते हुन् । महिलाबाट विमला सिंह, सरु चौधरी आकांक्षी छन्।
राष्ट्रियसभा मात्र नभएर सुदूरपश्चिम र केन्द्रिय सरकारका मन्त्री परिवर्तनको चर्चा चलिरहेकोले मन्त्रीमा आकांक्षा देखाउन थाल्नेको पनि कमि नरहेको ती नेताले बताए।