समलिंगी विवाहले चार वर्षपछि कानूनी मान्यता पायो

धनगढी। कैलालीमा पहिलो पटक समलिङ्गी बिचमा भएको विवाहले कानूनी मान्यता पाएको छ । चार वर्षअघि कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका–१ का मनिला न्यौपानबीच परम्परागतरुपमा मन्दिरमा भएको बिवाहलाई सर्वोच्चको अन्तरिम आदेशपछि कैलारी गाउँपालिकामा दर्ता भएको हो ।

बिवाह दर्तापछि शनिबार उहाँहरुले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी खुशी व्यक्त गरे । मनिलाले भनिन्–‘ट्रान्स जोडी विवाह गरेर कानूनी मान्यता पाउने हामी यहाँ पहिलो दम्पति बन्यौं । सरकारले हाम्रो माग सुनुवाइ गरिदिएकोमा एकदमै खुशी छौं ।’

प्रकाशकाअनुसार अहिले दुवैका परिवारले स्वीकार गरिसकेको भएपनि आफूहरूले कानूनी मान्यता नपाउँदासम्म पारिवारिक र सामाजिक लडाइँ लड्नुपरेको थियो । जटिल बिरामी भएर उपचार गर्न जाँदा होस् वा ब्याङ्किङ कारोबारमा आफूहरूले समस्या भोग्ने गरेको सुनाउदै उनले भने–“जहिले पनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्ककासाथ श्रीमान श्रीमति भएर विवाहित जोडी बन्यौं ।”

यसअघि लमजुङको दोर्दी गाउँपालिकामा रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डेबीच नेपालको पहिलो समलिङ्गी विवाह दर्ता भएको थियो । समलिङ्गी विवाहलाई दर्ता गर्ने कानूनी व्यवस्था गरिपाऊँ भन्दै पिङकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले समलिङ्गी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेपछि कानूनी मान्यताअनुसार दर्ता भएको निलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले जानकारी दिइन् । यो विवाहले अरुलाई पनि सहज हुने उनको अपेक्षा छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.