धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो।
धनगढी उपमहानगरपालिकालाई कल्याणकारी बनाउदै गएको भन्दै नगरप्रमुख गोपाल हमालले विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताए। धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन्। उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन्। विद्युत्बाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पुर्याइनेछ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षीत राख्न सहयोग गरेको बताइन्। उनले शव चिस्यान सेवालाई निरन्तरता दिने बताइन। धनगढीको गर्मीमा मृत्युको शव जोगाउन समस्या हुने गरेको उनले चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने बताइन।
धनगढी उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि समेत पाँच हजार दिने गरेको छ। परिवारका सदस्यको मृत्यु भएपछि नगर प्रहरीलाई खबर गरेपछि पाँच हजार घरसम्म पुर्याउने गरिएको छ।