धनगढी। सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो ।
जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब-स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । आक्रमणमा डिएसपी सहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ ।
सब-स्टेसन निर्माणका लागि आवश्यक पर्ने सब-स्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम सहमतिले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपियाँ वितरण गरिएको छ ।
तर, राष्ट्रिय सीमान्त करण विरुद्ध अभियान (समान, नेपाल) नाममा सञ्जालको उक्साहटमा प्रभावित जग्गाधनीहरूभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षबाट सब-स्टेसन निर्माणमा अवरोध गरिरहेका छन् ।