डडेलधुरामा मोती उत्पादनको तयारी

डडेलधुरा । सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेलधुरासँग सम्झौता गरेर पोखरी निर्माण गरेका हुन् । मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालक मालसँग २५ लाख रुपियाँ बराबरको सम्झौता गरेको छ । 

प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात् (पर्ल) लाई मानिन्छ । मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । हामीले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत भएको मालले बताए । सिपीको शल्यक्रिया गरी न्युक्लियस राखेपछि मोती उत्पादन हुने उनले बताए । एक किरामा नौ वटा दाना मोती झिक्न सकिन्छ ।

एउटा पोखरीमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म सिपी पाल्न सकिने भन्दै उनले सुरुवातमा तीन हजार छ सय सिपी पाल्ने योजना रहेको बताए । यसका लागि उनले भारतमा आवश्यक तालिम लिएको जानकारी गरे । सिपी भारतबाट ल्याई पोखरीमा प्रेस गराई एक सातामा न्युक्लियस प्रत्यारोपण गरेपछि मोती उत्पादन हुने उनले बताए । यसको बजार पनि भारत नै भएको उनको भनाइ छ ।

गएको वर्ष मात्रै मोती जडित गरगहनाका लागि नेपालीबाट ४७ करोड रुपियाँ खर्च भएको एक तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.