धनगढी । सुदूरपश्चिम सरकारकाे प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९/८० मा चार हजार जनालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएकाे छ । प्रदेश स्वरोजगार कोषले मंगलबार धनगढीमा पत्रकारसँगकाे अन्तरकृर्यामा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँचसय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेकाे बताएकाे हाे ।
वैदेशिक रोजगारमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशीलता विकास गर्न एवं पुँजीका अभावमा लगानीको स्रोत अपुग भएका बेरोजगार नागरिकलाई बिना धिताे न्यून ब्याजदरमा ऋण प्रवाह गरी उनीहरुलाई आवश्यक पुँजी व्यवस्थापन गर्न स्वरोजगार विकास कोषमा एक अर्व रुपैया रहेकाे प्रदेश स्वरोजगार कोषका कार्यकारी निर्देशक चुडामणि तिमिल्सेनाले जानकारी दिए ।
सहकारी संस्थाका लागि वार्षिक व्याजदर एक प्रतिशतमा पुँजी उपलब्ध गराईने व्यवस्था कार्यविधिमा रहेकाे भन्दै तिमिल्सेनाले भने ‘सहकारी संस्थाले अधिकतम ४ प्रतिशतसम्मा जोडेर लक्षित ब्यक्ति तथा समुहसँग व्याजदर कायम गर्न पाउने व्यवस्था रहेको छ ।’ स्वरोजगार कार्यक्रमअन्तरगत कोषका लक्षित समूह बढी भएका तर बैंक तथा वित्तिय संस्था र अन्य संस्थाको पहुँच कम रहेको हिमाली, पहाडी र तराईका जिल्लाहरुको गाउँपालिका, नगरपालिका र स्थानीय तहमा प्रदान गर्ने गरि प्राथमिकता दिइएको कार्यकारी निर्देशक तिमिल्सेनाले बताए ।
उनले भने, ‘लक्षित समुहका व्यक्तिलाई व्यवसाय अनुरुप ३ लाखसम्म, पाँच जना वा सोभन्दा अधिक सदस्य रहेको सामूहिक व्यवसायलाई १० लाखसम्म र स्थानीय तह स्तरमा कर्जा प्रवाह गर्ने सहकारी संस्थालाई २० लाख देखि ८० लाखसम्म सहुलियत प्रदान गरिनेछ ।’ सहकारी संस्थामा ५० देखि ३ सय सदस्य, दुई देखि १५ लाख शेयर पुँजी, ४ देखि ३० लाखसम्मको बचत रकम हुनुपर्ने प्रवाधान कार्यविधिमा छ। कोषअन्तरगत एक सय २० वटा वस्तुगत व्यवसायी सूचिकृत गरिएकोले सोही अनुसार सहुलियत कर्जा वितरण गरिने जनाइएको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले कार्यकालको अन्तिम अवधिमा प्रदेश सरकारले स्वरोजगार कोषको कार्यक्रम अघि बढाउन सफल भएको बताए । कार्यक्रमले बैंक र वित्तिय संस्थाको पहुँचमा नभएका दुर्गम क्षेत्रका नागरिक र वैदेशिक रोजगारबाट फर्किएका सीप भएका युवाहरु लाभान्वित हुने उनको भनाइ छ ।