धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु,छोरीचेलीहरूलाई घरमा बोलाएर मिठो/मसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।
ओल्के संक्रान्ति पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ। लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।