धनगढी । सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट पनि डायलासिस सेवा सुरु गरिएको छ। सेती प्रादेशिक अस्पतालपछि निजी क्षेत्रबाट पहिलो पटक धनगढीको नवजिवन अस्पतालले डायलासिस सेवा सुरु गरेको हो। नवजीवन अस्पताल धनगढी तथा मार्क इन्टरनेशनल डायलासिस सेन्टरबीच सम्झौता भएपछि मंगलबारदेखि अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरको उद्घाटन गरिएको हो।
स्वस्थ मिर्गौला, स्वस्थ जीवन नारासहित झण्डै ७ करोड लगानीमा सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि धनगढीमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका सिइओ चक्र कठायतले जानकारी दिए। उनका अनुसार डायलासिस सेवामा पहिलो चरणमा ६ वटा बेड संचालनमा ल्याइएको छ। त्यसपछि १० बेडसम्म बिस्तार गरिने जनाइएको छ। महिनामा १२० जना देखि १५० जना बिरामीलाई डायलासिस सेवा दिइनेछ।
अब डायलासिसका लागि अन्यत्र जान नपर्ने डाक्टर अर्चन शम्शेर राणाले जानकारी दिए। कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर बिदुरमणी ढकालले सुदूरपश्चिमका पहाडी जिल्लाबाट काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताए। लाखौँ खर्चेर हप्ताको दुई तिन/चोटी बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर राख्दै नवजीवन अस्पतालमै सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टर सञ्चालन गरिएको उनले जानकारी दिए।