निर्मला हत्याका चार वर्ष : प्रहरी डिएनएकै भरमा, पिडीतले न्याय पाएनन्

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टा खामकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार वर्ष पुगेको छ। २०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन। घटनाको ४ वर्षसम्म पनि प्रहरीको अनुसन्धान कुहिरोको काग जस्तै बनेपछि निर्मलाकी आमा दुर्गादेवी पन्तलाई न्याय पाइन्छ भन्ने विश्वास लाग्न छाडेको छ।

समय बित्दै जाँदा अहिले उनलाई कुनै सरकारी अनुसन्धान अधिकारीले यो प्रकरणका विषयमा सोधपुछ पनि गरेका छैनन्।सरकार र अनुसन्धान अधिकारी फेरिने तर प्रवृत्ति पुरानै दोहरिने भएपछि उनले पनि अहिले जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकिन। ‘अब निर्मलाले न्याय पाउँछे भनेर र कत्ति पनि आशा बाँकी छैन,’ उनले भनिन्, ‘अहिले न कसैले सोधपुछ गर्छन्, न मैले नै सोधखोज गरेकी छु।

एउटै प्रश्नको जवाफ पनि कति जनालाई दिइसक्नु। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लाग्न थालिसक्यो।’

प्रहरी अनुसन्धान डिएनएकै भरमा

निर्मलाको हत्यारा पत्ता लगाउनका लागि अहिले पनि निर्मला पन्तको बलात्कारपछि हत्याबारे अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी भन्छन्, ‘अहिले पनि ९ जना सम्मिलित सिआईबीको एउटा डेडिकेटेड टोलीले सूक्ष्म अनुसन्धान जारी राखेको छ। त्यसबाहेक हाम्रा अन्य टोली पनि सक्रिय छन्। तर कसैले हामी कहाँ आएर अपराध स्वयंम स्वीकार गरे पनि डिएनएले त्यसलाई पुष्टि नगरेसम्म त अनुसन्धानले पूर्णता पाउँदैन।’ 

‘हामीले हालसम्म यो घटनामा १०७ जनाको डिएनए परीक्षण गरिसकेका छौँ। थप तीन जनाको परीक्षणका लागि पठाइएका छौं। त्यो लगाएर ११० जना डिएनए परीक्षणको दायरामा र ६३५ जनालाई सोधपुछ गरिसकेका छौं,’ उनले भने। प्रहरीले अहिले पहिला भन्दा छुट्टै तरिकाले पनि अनुसन्धान गरिरहेको उनको दाबी छ। लागू औषध दुर्व्यसनकर्ताले घटना घटाएको जस्तो देखिएकाले अहिले अनुसन्धान तीनमा बढी केन्द्रित भएको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.