सकारात्मक सन्देश प्रवाह गर्न मिडियाकर्मीलाई निर्वाचन आयुक्तकाे आग्रह

धनगढी। निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन सफल पार्नमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेकी छन्। शनिवार आयोगले कैलालीको धनगढीमा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।

संविधानले तोकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको भन्दै उनले सबै एकताबद्ध भएर स्थानीय तहको चुनाव सफल पार्नुपर्ने बताइन्  । निर्वाचनलाई स्वच्छ, स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने औल्याउदै ‘स्वच्छ पत्रकारिता लोकतन्त्रको आधार हो’ आयुक्त तुलाधरले भनिन्, ‘त्यसैले पत्रकारहरुले आफ्ना आचारसंहिता सहित निर्वाचन आचारसंहितालाई ख्याल गरेर काम गर्नुपर्छ ।’

बदर मत सङ्ख्या घटाउनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनको भनाइ थियो । यस्तै पत्रकार महासंघका महासचिव रोशन पुरीले चुनावको समयमा संवेदनशील भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न अनुरोध गरे ।राजनीतिक दलका समाचार लेख्दा पक्ष र विपक्ष नभएर सन्तुलन मिलाएर लेख्न पनि उनले अपिल गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । उनले सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उनले भने ।

कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रको बारेमा जानकारी गराएका थिए । उनले स्थानीय तहको निर्वाचन निर्देशिका अनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको बताए । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छपाइ भएको छ’, उनले भने । उनले कैलालीका लागि दुई लहरको चुनाव चिन्ह रहेको मतपत्र रहने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.