पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ । पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो ।
मोडल तथा नायक पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता पनि भङ्ग हुने गरी सामाग्री प्रसारण गरेको तथा विचाराधीन मुद्दाको अनुसन्धान प्रक्रियालाई नै असर पार्न लागेपछि प्रेस काउन्सिल नेपाल, साइबर ब्यूरो र गृह मन्त्रालयले युट्युबरमाथि एक्सन लिन लागेका हुन् ।
पल शाह प्रकरणमा पत्रकारिताको न्यूनतम आचारसंहिता पनि बिर्सिएर सामाग्री उत्पादन तथा प्रसारण गर्ने २१ युट्युब च्यानल र तिनका सञ्चालकहरू प्रहरीको खोजी सूचीमा परेका छन् । साइबर ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालका अनुसार फागुन २० गते प्रेस काउन्सिल नेपालले लेखि पठाएको १६ युट्युब च्यानल र साइबर ब्यूरो आफैँले अनुसन्धान गरी थप ५ गरी २१ वटा युट्युब च्यानलमाथि यतिबेला अनुसन्धान भइरहेको छ ।
ती मध्ये केही युट्युब च्यानलका सञ्चालक र कार्यक्रम प्रस्तोताविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको साइबर ब्युरोले जनाएको छ । यद्यपि ती कुन कुन युट्युब च्यानल हुन् र को को विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हो भन्नेबारे भने ब्युरोले हालसम्म केही पनि बताएको छैन ।राताेपाटी