आजकाे प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसको अडान गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी जसपा लगायतका दलहरुले पार्टीकाे माथिल्लाे तहकाे बैठक बाेलाएका छन् ।
एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक अहिले बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने र सो बैठकमा एमसीसीबारे छलफल हुने एक नेताले बताए। यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो।
जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी बैठकमा भने एमसिसीबारे कुनै छलफल भएन। बैठकले पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भनेर सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको आज बिहान छलफल हुँदैछ।
त्यही छलफलले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निर्णय गर्ने जसपाका एक नेताले जानकारी दिए। जसपामा यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ। भट्टराई पक्ष भने यही रूपमा पारित गर्नुपर्ने अडानमा छ। प्रचण्डले निर्णय लिना साथ यादवले पनि निर्णय लिने भट्टराई पक्षको भनाइ छ।