भाइटीकाको उत्तम साइत बिहान ११ बजेर दुई मिनेटमा

धनगढी । यस बर्ष शनिबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस दिन बिहान ११ः ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन्।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै गाउँघर लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बालेकाले उज्यालोमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ। नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.