धनगढी । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कूल ९ हजार ६९१ सिट निर्धारण गरेको छ। एमबीबीएस कार्यक्रममा यस वर्ष ११० सिट थप गरिएको छ । आयोगले कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ ।
यस निर्णयसँगै विश्वविद्यालयमा चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट सुनिश्चित भएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसका ५० सिट निर्धारण हुनुले सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारको नयाँ अवसर सिर्जना गरेको छ। यसबाट प्रदेशका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि अन्य प्रदेशमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसका सिट बढाइएको छ । दुवै संस्थामा गत वर्षको तुलनामा ३०/३० सिट थप गरिएको हाे ।
