धनगढी। आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
यही अवसरमा आज कैलालीको धनगढीमा प्रभातफेरीसहित आदिकवि भानुभक्त आचार्यकाे सालिकमा माल्यार्पण गरी विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइएको छ। कैलाली जनपुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बिहान धनगढी–१ स्थित एलएन चोकबाट प्रभातफेरी सुरु गरिएको थियो।
नेपाल प्रहरीको ब्याण्ड बाजासहित निकालिएको प्रभातफेरीमा साहित्यकार, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहितको सहभागिता रहेको थियो। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी र कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको संयुक्त नेतृत्वमा सम्पन्न प्रभातफेरीमा विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सचिव महेन्द्रराज पन्तलगायतको उपस्थिति रहेको थियो।
एलएन चोकबाट सुरु भएको प्रभातफेरी धनगढीस्थित कैलाली जनपुस्तकालय पुगेर आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको थियो। त्यसपछि ¥याली चकमेली बजारस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा पुगेर त्यहाँ रहेको भानुभक्त आचार्यको सालिकमा पनि माल्यार्पण गरिएको थियो।