
धनगढी । सुदूरपश्चिमकाे धनगढीमा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएकाे छ । नेत्रहिन युवा संघ नेपालकाे आयाेजनामा सुदूरपश्चिममा अपाङ्गता भएका बालबालिकाको अवस्था, उनीहरुले भाेग्दै आएकाे समस्य तथा राज्यबाट प्रदान हुनुपर्ने सेवा सुबिधाबारे छलफल भएकाे थियाे ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सन्ताेष शर्मा थापाकाे प्रमुख आतिथ्य र नेत्रहिन युवा संघ कैलालीका उपाध्यक्ष नरेन्द्र बिष्टकाे अध्यक्षतामा सञ्चालन कार्यशालामा प्रदेशसभाकाे सार्वजनिक लेखा समितिका सभापति अक्कल रावल, पूर्वमन्त्री लक्ष्मी विक लगायतले अपाङ्गता बालबालिकाको अधिकार सुनिश्चित गर्न लागिपर्ने बताएका थिए ।
कार्यशालामा प्रदेश सरकारकाे समाजिक विकास मन्त्रालयका सहसचिव लाेकेन्द्र भट्ट र नेत्रहिन युवा संघ नेपालका महासचिव अर्जुन रावलले अपाङ्गता भएका बालबालिकाको अधिकारबारे प्रदेश तथा राष्ट्रिय अन्तराष्ट्रिय कानून र नीति नियमका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद खेमा बिष्ट, विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी र सराेकारवालाकाे सहभागिता थियाे । सहभागीहरुले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न भएका नीति नियम तथा कानूनहरुकाे प्रभावकारी कार्यान्वनमा जाेड दिएका थिए ।
