काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदैछ । याेसँगै नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ । एनपीएलमा यसपटक पनि ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।
गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् । गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्याउने लक्ष्यमा जनकपुर हुनेछ ।
यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।
