डडेलधुरा जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार बेलुकी भारतीय नम्बर प्लेटको जीजे ०५ आरभी ८८४८ कार रोकेर चेकजाँच क्रममा कारमा सवार अजय मेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरेका थिए ।
अमरगढी नगरपालिका–५ बागबजारको बसपार्कमा रहको प्रहरी पोस्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवलदार थानेश्वर प्रकाश पन्तलाई ढुङ्गाले हानेर पाँच जना युवाको समूहले शक्त घाइते बनाएको थियो । प्रहरी सहायक हवलदार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
प्रहरीले कार चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएकाे छ। डडेल्धुराका प्रहरी प्रमुख नायव उपरीक्षक श्रेष्ठका अनुसार अजयमेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐरलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको र ढुङ्गा प्रहारबाट घाइते पन्तको धनगढीमा उपचार भइरहेको प्रहरीले बतायाे ।