
धनगढी। सुदूरपश्चिम प्रदेशमा गत बर्ष पाँच हजार एक सय ९० एचआइभी एड्स संक्रमितको अनुमान गरेकोमा चार हजार सात सय १७ जनामा संक्रमण पत्ता लागेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो मध्ये तीन हजार छ सय २३ जना उपचारमा रहेको बताइएको छ।सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्स संक्रमितको संख्या र नयाँ पत्ता लाग्ने दर पनि घट्न नसकेको बिहिबार धनगढीमा सञ्चारकर्मीहरुसंगको छलफलमा जनाएको हो ।
निर्देशनालयका अनुसार सो अवधिमा एक सय तीन महिला, एक सय ४७ पुरुष र दुई अन्य गरि दुई सय ५२ जना नयाँ संक्रमित पत्ता लागेकोमा एक सय चार महिला, एक सय २८ पुरुष र आठ अन्य गरि दुई सय ४० जना उपचारमा दर्ता भएका छन् । सो अवधिमा प्रदेशमा २४ महिला, ४३ पुरुष र एक अन्य गरि ६४ जनाको एड्सका कारण मृत्यु भएको तथ्यांकमा रहेको छ ।
राष्ट्रिय एड्स रणनीति (२०१६–२०२१) मा ‘नयाँ संक्रमण संख्या ५० प्रतिशतले कम गराउने, वालवालिकामा नयाँ संक्रमण ९०, प्रतिशतले कम गराउने, एड्ससँग सम्बन्धित मृत्युदर २५ प्रतिशतले कम गराउने, रहेकोमा जनस्वास्थ्यको, चुनौतीको रुपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने’ उल्लेख भएपनि प्रदेशमा नयाँ संक्रमितको संख्या घट्न सकेको छैन् ।
निर्देशनालयका अनुसार रोजगारीका लागि भारत जाने, एक ठाउँबाट अर्को ठाउँ जाने, रोग लागेमा खुलेर स्वास्थ्य संस्थामा नआउने लगायतका कारण ती संक्रमित स्वास्थ्य संस्थाबाट सम्पर्कविहिन हुने गरेको जनाइएको छ । एआइभीसंगै संक्रमितमा क्षयरोग, हेप्टाइटिस र हेप्टाइटिस वि संक्रमण पनि देखिन गरेको निर्देशनालयले जनाएको छ । सो अवधिमा कुल संक्रमितमध्ये २२ जनामा क्षयरोग संक्रमण देखिएको छ भने २६ जनामा हेप्टाइटिस वि, सात जनामा हेप्टाइटिस सि र एक जनामा हेप्टाइटिस वि र सि दुबै संक्रमण देखिएको थियो ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले एचआईभीका जटिल विरामीहरुलाई उपचारवापत निको बनाउन चुनौति रहेको बताए । उनले भने –‘सामाजिक सुरक्षा कार्यक्रमले व्यहोर्ने बजेट अपुग हुने हुँदा जटिल विरामीलाई बचाउन समस्या हुने गरेको छ ।’ उनले अस्पतालमा भिड बढी हुने तर, संक्रमितले छिटो भन्दा छिटो सेवा चाहने प्रवृति बढ्दै गएको बताए ।
धनगढीमा विश्व एड्स दिवस भव्यताका साथ मनाइदै
सुदूरपश्चिम प्रदेशको धनगढीमा भोली ३६ औं विश्व एड्स दिवस विविध कार्यक्रम गरि मनाइने भएको छ । ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नारासहित धनगढीमा विभिन्न कार्यक्रम आयोजना गरिन लागेको सञ्चारकर्मीसंगको भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो ।
दिवसको अवसरमा क्याम्पसरोडदेखि पार्क मोडसम्म सचेतनामुलक र्याली गरिने र पार्कमोडमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाइएको हो ।कैलाली जिल्ला स्वास्थ्य कार्यालय, एड्स हेल्थ फाउण्डेसन लगायत विभिन्न संघ/संस्थाको संयुक्त आयोजनामा दिवस भव्यताका साथ मनाइने जनाइएको छ ।
