धनगढी। चुनावताका कैलालीको गौरीगङ्गा नगरपालिका–१० भैंसासुरस्थित लिक्मा (सुर्मा) नदीमा पक्की पुल बन्ने कुरा जोडतोडका साथ उठ्ने गर्छ। नेताहरुले नदीमा पुल बन्ने कुरालाई चुनावी मुद्दा नै बनाउने गर्छन्। तर, चुनाव सकिएसँगै पक्की पुलको कुरा सेलाएर जान्छ।
“पुलको आश्वसन बाँडदै दलका नेताले भोट माग्दै आएको ११ वर्ष बितिसक्यो”, स्थानीय दीपेन्द्र चौधरी भन्नुहुन्छ,“अहिलेसम्म पुल बनेन।” नदीमा पुल नहुँदा वर्षातको समयमा ११ किलोमिटर हिडेर उदासीपुर पुग्ने गरेको उहाँले बताउनुभयो। “भैंसासुर र उदासीपुर जोड्ने ठाउँमा पुल भएमा दुई मिनेटको बाटोमात्रै हो। पुल नहुँदा ११ किलोमिटर हिँडेर उदासीपुर पुग्नु पर्दछ”, चौधरीले भन्नुभयो।
पटक पटक आश्वसन पाएका स्थानीयले पक्की पुल नबनेपछि नदीमा काठेपुल बनाएर हिउँदमा ओहोरदोहोर गर्ने गरेका छन्। यसवर्ष पनि उनीहरुले आफ्नै खर्चमा काठेपुल निर्माण गरिसकेका छन्। विगत लामो समयदेखि पक्की पुलको माग गर्दै आए पनि सुनुवाइ नभएकाले आफूहरु बाध्य भएर काठको पुल बनाएर ओहोरदोहोर गर्ने गरेको भैंसासुर गाउँका भलमन्सा तीर्थ चौधरीले बताउनुभयो।