
धनगढी । सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा सुपथ मुल्य पसल खोल्ने तयारी भइरहेको छ। आज आइबारदेखि सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।
उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। सुदूरपश्चिमका कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन्।
साथै दुग्ध विकास संस्थानले अत्तरिया र धनगढीमा सुपथ मूल्य पसलसहित एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालनमा ल्याउने तयारी छ। सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ। सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ।
