
धनगढी । सुदूरपश्चिम प्रदेशकै रिफरल अस्पतालको रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरेर सेवामा सुधार गरिने सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले बताएका छन् । सेती अस्पतालमा सर्वसाधारणले उपचार पाउन निकै समस्या भोग्नुपरेको जनगुनासोपछि सकारात्मक परिवर्तनको पहलमा रहेका मन्त्री साउँदले बिहिबार मुख्यमन्त्रीसहित स्थलगत अनुगमन गरि यस्तो यस्तो बताएका हुन् ।
दुई सय शय्यामा अस्पतालको स्तरोन्नति गरेर सेवामा सुधार गर्ने सामाजिक विकास मन्त्री साउँदले बताए। पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएकाले अस्पतालको सुधार गर्न सरकार लागिपरेको उनको भनाई छ । “हामी छिट्टै दुई सय शय्याको ओएण्डएम बनाएर सेवा विस्तार गर्ने छौँ,” उनले भने, “यो पटक अस्पतालको सुधार गरेर सेवा प्रभावकारी बनाइनेछ।”
सेती अस्पतालमा उपचार गर्न आउने बिरामीको समयमा उपचार सेवा नपाएको गुनासो रहदै आएको छ। बिरामीको चाप हरेक वर्ष बढ्दै गए पनि जनशक्ति र भौतिक पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा उपचार सेवा प्रभावित हुने गरेको छ। अनुगमनमा रहेका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले सेतीको सुधार गर्ने मुद्दा हरेक चुनावमा उठ्ने गरेको भएपनि सुधार नभएको बताए। उनले भने, ” यो पटक अस्पताल सुधार गरेर अगाडि बढ्न धेरै काम अगाडि बढी सकेको छ।”
अस्पतालको इमरजेन्सी वार्डदेखि सबै वार्डहरू मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले अनुगमन गरेका थिए । उनीहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र व्यवस्थापकीय कठिनाइका विषयमा बुझेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा विविध समस्या कायम रहेको बताए । उनले चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मी अभावसँगै संरचनाको अभाव समेत रहेको बताए ।
